जसले पहिलो पटक डाक्टर देखे
Nov 11 2017

जसले पहिलो पटक डाक्टर देखे

‘मान्छेको मुटु कता हुन्छ, हाम्लाई पनि देखाइदिनु न डाक्टरसाप’, यो प्रश्न विकट हिमाली जिल्ला डोल्पाको हो। केही समय अगाडि सेभ द हार्ट र मनमोहन कार्डीयोलोजी एण्ड भास्कुलर सेन्टरको संयुक्त आयोजनामा दुनैमा गरिएको स्वास्थ्य सिविरमा आएका सर्वसाधारणको हो।

मुटु कहाँ हुन्छ भन्नेसम्म जानकारी नभएका मानिसले स्वास्थ्य चौकीसमेत टेकेका रहेनछन्। कहाँ स्वास्थ्य परीक्षण गराउनु। हामीले नौ दिनमा डोल्पा सदरमुकाम दुनै, से-फोक्सुन्डो, टिप्रीच र जुफामा गरिएको स्वास्थ्य सिविरमा अस्पताल नदेखेका धेरै सेवाग्राही आए।

जिल्ला अस्पताल दुनै, जिल्ला शिक्षा कार्यालय, स्थानीय राजनीतिक दलका नेता र सर्वसाधारण सबैको सहयोगमा काठमाडौंबाट गएको १४ जनाको टोलीले आएका सबै सर्वसाधरणको मुटु र यो सँग सम्बन्धित स्वास्थ्य परीक्षण गर्‍यौ।

मुटुको स्वास्थ्य शिविर लिएर डोल्पा गएका हामीले स्वास्थ्य सिविरमा भेटेका रोगीलाई औषधी दिने, उचित परामर्स दिने र मुटुरोगको बारे जनचेतना फैलाउने काम गर्‍यौ।  त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं ल्याएर उपचार गर्ने सम्मको हाम्रो उद्धेश्य थियो। त्यही अनुसार हामीले झण्डै चार हजारको स्वास्थ्य परीक्षण गर्‍यौ। त्यसमध्ये ३२ जनामा मुटुको अपरेशन गर्नुपर्ने भेटिए। त्यसमा पनि १० जनाको तत्कालै गर्नुपर्ने भेटियो। उनीहरूलाई हामीले चाडोभन्दा चाडो काठमाडौं बोलाएर उपचार गर्ने व्यवस्था मिलाएका छौ।

डोल्पाको इतिहासमा ‘इको’ र ‘इसिजि’ मेशिन बोकेर गएको हाम्रो टोली नै पहिलो हो। यो स्तरका चिकित्सक नै डोल्पामा पहिलो पटक पुगेका थिए। त्यहाँका मानिसहरुमा चेतना एकदमै कम छ। डोल्पामा हामीले सबैभन्दा बढी जन्मजात मुटुका रोगीहरू, बाथ ज्वरो मुटु रोग, उच्च रक्तचाप र सुगरका बिरामी धेरै भेट्यौ।

समग्रमा हेर्दा पहाडी तथा हिमाली जिल्लाहरुमा जन्मजात मुटुका रोगीहरू भेटिएका थिए। यसअघि हामी कालीकोट, मुगु जाँदा पनि यस्तै भेटिएको थिए। डोल्पामा पनि त्यही भयो। सबैभन्दा बढी त उच्चरक्तचापको रोगी भेटिए। डोल्पाको दुनैमा अलि बढी उच्च रक्तचापका बिरामी भेटिए। आम जीवनशैलीमा आएको परिवर्तनले दुनैमा पनि असर गरेको देखियो।

पहिलो पटक रक्तचापको परीक्षण र पहिलोपटक डाक्टरसँगको भेट

शिविरमा आएका अधिकांशको पहिलो पटक रक्तचापको परीक्षण भएको थियो। त्यती मात्रै होइन डाक्टर नै पहिलो चोटी देखेको भन्ने सर्वसाधरण पनि भेटिए। पहिलो पटक डाक्टर देख्नेहरुले हामीबाट अपेक्षा धेरै गर्नु स्वभाविकै थियो।

हामीले पनि आवश्यक उपकरण लिएर गएका थियौं। जसले गर्दा हामीलाई मुटुको परीक्षण गर्न सजिलो भयो। त्यो ठाउँमा हामीले मुटुको सबै परीक्षण गर्‍यौ। बिजुली हुँदैन भनेर हामीले इन्भटरसमेत लिएर गएका थियौं। मुटुको भल्ब, मुटुको चाल, मुटु तन्किने खुम्चिनेलगायत परीक्षण गरेर मुटु रोग भए नभएको जानकारी गरायौ।

मुटुको समस्या नभएकाहरुलाई कुनै समस्या छैन ढुक्क हुनुहोस् भन्यौ, समस्या भएकालाई औषधि दियौ। अनि थप उपचारको आवश्यक भएकालाई त्यसको व्यवस्था गर्‍यौ। हामीले काठमाडौंको अस्पतालमा हुने ‘डाइग्नोसीस’ त्यही गरेका थियौ।

यसो औषधि बाडेर छामछुम पार्ने काम हामीले गरेनौं। कुनै व्यक्तिलाई मुटुको समस्या छ कि छैन भनेर काठमाडौं आउन पर्ने अवस्था रहेन।

दुर्गम डोल्पा र डा.हिम शाही

काठमाडौं र डोल्पाको दुरी धेरै टाढा छ। त्यो भन्दा बढी  विकास र उन्नतीले पनि डोल्पा धेरै पछाडि छ। अहिलेसम्म हुम्ला र डोल्पामा सडक पुग्न सकेको छैन। जुफाल एयरपोर्टदेखि दुनैसम्मको झण्डै ७ किमी सडकमा हेलिकप्टरबाट लगिएका केही जिप चल्छन्। जिवनशैलीमा धेरै भिन्नता छ।

हामी नौ दिन बस्दा त्यही कपडा लगायौं। त्यसैमा पसिना आयो त्यही सुक्यो। त्यही लगाएर सुतियो जाडो छ नुहाउन सकिएन। तातो पानी सम्भव छैन। १२ बजेपछि व्यापक हावा चल्दो रहेछ। जसले गर्दा धुलो त्यत्तिकै आउने। त्यती विकट त काठमाडौं बसेर कल्पना पनि गर्न सकिदैन। सरकारले गर्नुपर्ने काम धेरै छ। तर हामी चिकित्सकको तहबाट पनि केही गर्न सकिन्छ। डा.हिम शाही जसले भर्खरै एमबीबीएस सकेर डोल्पामा काम गरिरहेका छन्।

उनले  तीन महिलाको अपरेशन गरेर बच्चा निकालेका रहेछन्। मौसम खराब भएर हेलिकप्टर आउन नपाएपछि बिरामीको ज्यान जाने अवस्था आयो। त्यस्तो अवस्थामा बिरामीका आफन्तसँग कुरा गरेर शाहीले अपरेशन गर्ने आँट गरेछन्। बिरामीको ज्यान नबच्ने नै भएपछि उनले अपरेशन गरे उनको त्यही अपरेशनले तीन जना सुत्केरीको ज्यान बचाइदियो।

जिल्लामा यसरी काम गर्ने कति छन् त? उनले सुत्केरीको ज्यान बचाइदिए। सामान्य चिकित्सक पनि त्यहाँ छैन। इसिजिको सेवासमेत छैन। कसैलाई एपेन्टीसाइट भयो भने उपचार गर्न सकिने अवस्था छैन। पित्त थैलीमा भएको ढुंगा झिक्न सकिदैन। स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै छ।

डोल्पाको सम्भावना

म पूर्वाधार र विकासको विद्यार्थी होइन। तर, त्यहाँको प्रचुर सम्भावना साह्रै लोभलाग्दो छ। दुनैदेखि जुफालसम्म लेकसाइडमा यस्तो चट्टान छ जसलाई फोर्ने हो भने अति गुणस्तरीय ‘मार्बल’ निस्किन्छि। त्यहाँ त खर्बौको सम्पत्ति छ। नेपालीले इटालीबाट ल्याएर मार्बल ओच्छाउछन् तर यहाँ त्यसै खेर गएको छ। अर्को जलविद्युत हो। सुलिगा खोलाबाट २० ठाउँमा बिजुली निकाल्न सकिन्छ। त्यो बाहेक जडीबुटी, स्याउको त्यतीकै सम्भावना छ। पानीका प्लान्ट राख्न सके गुणस्तरीय ‘मिनलर वाटर’ को उत्पादन गर्न सकिन्छ।  अरू हिमाली जिल्लाको तुलनामा डोल्पामा उब्जनी हुने जमिन प्रशस्त छ। यसमा सम्बन्धित निकायले ध्यान दिँदा राम्रो हुन्छ।

Latest Photos

What Others Say

Latest Videos

">